भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, ४ हजार ८९८ अझै सम्पर्कविहीन
राम्रो पोष्ट
२० भदौ २०८३, शनिवार
काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहँदा हालसम्म एक हजार ३४४ जनाको शव फेला परेको छ भने ४ हजार ८९८ जना अझै सम्पर्कविहीन छन्।
प्रहरी प्रधान कार्यालय नक्सालले शनिबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरुष र ५०१ वटा पहिचान खुल्न नसकेका शव रहेका छन्। प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले बेपत्ताको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको जानकारी दिएका छन्।
प्रहरीका अनुसार सम्पर्कविहीनमध्ये २ हजार ४४८ स्वदेशी पुरुष, ४८२ महिला, फोनमार्फत टिपाइएका १ हजार ३५० जना तथा विदेशी नागरिकतर्फ २७४ पुरुष र ३४४ महिला रहेका छन्।
फेला परेका शवमध्ये १ हजार ३० शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
बाढीपछि हालसम्म ८ हजार ६३१ जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ६५५ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको छ।
मृतक १ हजार २६० जना र मृतकका आफन्त ९७२ जना गरी हालसम्म २ हजार २३२ जनाको डीएनए नमुना सङ्कलन गरिएको छ। बेपत्ताको पहिचान तथा शवको सनाखतका लागि डीएनए नमुना सङ्कलनलाई प्राथमिकताका साथ अघि बढाइएको प्रहरीले जनाएको छ।
भोटेकोशी बाढीबाट ठूलो मानवीय क्षति भएपछि बेपत्ताको खोजी, उद्धार र शव व्यवस्थापनका लागि नेपाल प्रहरीसहित सुरक्षा निकाय तथा विभिन्न सरकारी निकाय निरन्तर परिचालित छन्।
गरिमाको हत्यापछि सरकारको ठूलो कदम! कानुन र सजाय पुनरावलोकन गर्न ७ दिनभित्र ‘गरिमा न्याय सङ्कल्प समिति’ गठन

राम्रो पोष्ट