समयले टाढा बनायो, सम्झनाले फेरि जोड्यो : कालिञ्चोकका एसएलसी ब्याच २०६५ ले गरे गुरु सम्मान
राम्रो पोष्ट
२० भदौ २०८३, शनिवार
काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिका–३ स्थित कालिञ्चोक माध्यमिक विद्यालयबाट २०६५ सालमा एसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूले काठमाडौंमा साथी भेटघाट तथा गुरु सम्मान कार्यक्रम आयोजना गरेका छन्।
लामो समयपछि सहपाठी तथा गुरुहरूबीच पुनर्मिलन गराउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयमा अध्ययन गराउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका गुरुहरूलाई सम्मान गरिएको हो।
कार्यक्रममा तत्कालीन प्रधानाध्यापक कृष्णबहादुर गौतम, नेपाली विषयका गुरु बाबुराम शर्मा, वर्तमान प्रधानाध्यापक तथा सामाजिक विषयका गुरु शम्भु गौतम, अंग्रेजी विषयका गुरु बालकृष्ण दाहाल तथा गणित तथा विज्ञान विषयका गुरु सन्तोष खड्काको उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यार्थी तथा गुरुहरूबीच अनुभव आदानप्रदान, मन्तव्य, साहित्यिक रचना प्रस्तुति तथा सम्मानपत्र वितरण गरिएको थियो। लामो समयपछि पुराना गुरु तथा सहपाठीहरूसँग भेटघाट गर्न पाउँदा सहभागीहरू भावुकसमेत बनेका थिए।
कार्यक्रमले विद्यार्थी जीवनका पुराना सम्झनालाई पुनःताजा गर्दै गुरुहरूप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्।

राम्रो पोष्ट