नेपाल हाउस विवादमा एनआरएनए जापानको औपचारिक धारणा: प्रतिवेदन गम्भीरतापूर्वक अध्ययन गरेर निष्कर्ष सार्वजनिक गर्ने
राम्रो पोष्ट
१५ कार्तिक २०८३, आइतवार
टोकियो, जापान। जापानमा निर्माण गर्ने तयारी भइरहेको नेपाल हाउसको जग्गासम्बन्धी अध्ययन तथा अनुगमन समितिले छानबिन प्रतिवेदन बुझाएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ।
एनआरएनए जापानले शनिबार (३१ अक्टोबर २०२६) जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल हाउस केवल भौतिक संरचना निर्माण गर्ने योजना मात्र नभई जापानमा रहेका नेपालीहरूको साझा सपना, पहिचान, आत्मसम्मान र सामूहिक भविष्यसँग जोडिएको महत्वपूर्ण अभियान भएको उल्लेख गरेको छ।
नेपाल हाउस निर्माणका लागि खरिद प्रक्रियामा रहेको जग्गाको वास्तविक अवस्था, सम्भावित जोखिम तथा भविष्यमा आउन सक्ने समस्याहरूको अध्ययन गर्न गठित समितिले अक्टोबर ३० तारिख परिषद्लाई प्रतिवेदन बुझाएको थियो।
परिषद्ले अध्ययन तथा अनुगमन समितिका संयोजक दीपक कँडेलसहित सम्पूर्ण सदस्यहरूले समयमै जिम्मेवारीपूर्वक योगदान पुर्याएको भन्दै धन्यवाद व्यक्त गरेको छ।
विज्ञप्तिमा नेपाल हाउस कुनै व्यक्ति, पदाधिकारी वा सीमित समूहको निजी सपना नभई सम्पूर्ण नेपाली समुदायको साझा अभियान भएकाले यससँग सम्बन्धित प्रत्येक निर्णय पारदर्शी, जवाफदेही र तथ्यमा आधारित संस्थागत विधि तथा प्रक्रियाअनुसार हुनुपर्नेमा जोड दिइएको छ।
परिषद्ले प्राप्त प्रतिवेदनमा समेटिएका सम्पूर्ण विषयवस्तु, तथ्य, विवरण, निष्कर्ष तथा सुझावहरूको गम्भीरतापूर्वक अध्ययन गर्ने जनाएको छ। आवश्यक अध्ययन तथा समीक्षा प्रक्रिया पूरा भएपछि प्रतिवेदनमा उल्लेखित वास्तविक तथ्य र निष्कर्ष आम नेपाली समुदाय तथा सरोकारवालासमक्ष सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी, प्रतिवेदन सार्वजनिक गर्ने प्रक्रियालाई सत्यतथ्य पहिचान, संस्थागत विश्वास बलियो बनाउने र विगतका अनुभवबाट सिक्दै नेपाल हाउस निर्माण अभियानलाई व्यवस्थित तथा विश्वसनीय ढंगले अघि बढाउने उद्देश्यसँग जोडिएको परिषद्ले स्पष्ट पारेको छ।
एनआरएनए जापानले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सम्पूर्ण जापानवासी नेपालीहरूलाई आधिकारिक र पुष्टि भएका सूचनाका आधारमा मात्रै समाचार तथा धारणा सार्वजनिक गर्न आग्रह गरेको छ। अपुष्ट विवरण, भ्रमपूर्ण समाचार तथा हल्लाले समुदायमा अन्योल र अविश्वास बढाउन सक्ने भन्दै त्यसप्रति सचेत रहन पनि अनुरोध गरिएको छ।
नेपाल हाउस सम्पूर्ण नेपालीहरूको साझा सम्पत्ति बन्नुपर्ने उल्लेख गर्दै परिषद्ले यस अभियानमा जोडिएका सबै पक्षलाई जिम्मेवारीपूर्वक सहयोग गर्न र प्रतिवेदनको अध्ययन तथा आधिकारिक जानकारी सार्वजनिक गर्ने प्रक्रियामा धैर्य गर्न आग्रह गरेको छ।
विज्ञप्तिको अन्त्यमा एनआरएनए जापानले ‘नेपाल हाउस हाम्रो साझा सपना हो, यसको संरक्षण र सफल निर्माण हाम्रो साझा जिम्मेवारी हो’ भन्ने प्रतिबद्धता दोहोर्याएको छ।
प्रेस विज्ञप्तिमा एनआरएनए जापानका प्रवक्ता सचिन आचार्यले हस्ताक्षर गरेका छन्।

राम्रो पोष्ट