११ चैत २०८२, आइतवार

भर्खरै

कालिञ्चोक भगवती द्वाल्खा पुगेसंगै भैरवको निगरानीमा कुमारीलाई पाँच रात घुमाउँदै

राम्रो पोष्ट ५ भदौ २०८१, बुधवार
कालिञ्चोक भगवती द्वाल्खा पुगेसंगै भैरवको निगरानीमा कुमारीलाई पाँच रात घुमाउँदै

चरिकोट। दोलखाको भीमेश्वर नगरपालिका –२ स्थित प्राचीन नगरी द्वाल्खामा परम्परागत रुपमा चल्दै आएको भैरव–कुमारी जात्रा सुरु भएको छ।बाजागाजाको तालमा भैरव, कुमारी र एक जना गुवाजुसहित १३ जनाको गण नाच्दै द्वाल्खा नगरका सम्पुर्ण देवस्थल घुम्दै मनाउने यो जात्रा बुधबार रातिदेखि सुरु भएको हो । हरेक वर्षको भाद्र कृष्ण द्वितीयाका दिन अर्थात गाईजात्राको भोलिपल्टदेखि षष्टीसम्म लगातार पाँच दिन द्वाल्खामा रातभर यो जात्रा निकालिन्छ ।जात्रा हेर्न जिल्लाका विभिन्न स्थानबाट मात्रै नभएर जिल्ला बाहिरबाट समेत हजारौँको संख्यामा मानिसहरु प्राचीन शहर द्वाल्खा आउने गरेका छन् । जात्रामा भैरव–कुमारीको दर्शन गर्दा र ब्रत बस्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । विभिन्न मनोकांक्षका साथ ब्रतालु नारीहरुले राती पुजापाठ गरेपछि सुरु हुने नाचमा भैरव र कुमारीको दर्शन गर्ने र प्रसाद ग्रहण गर्नेहरुको भीडले जात्रास्थल खचाखच हुने गर्दछ ।पाँच सय वर्ष भन्दा वढि पुरानो मानिने यो जात्रा द्वाल्खा बजारबाहेक देशको अन्य ठाउमा नदेखाइने दावी दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिका सचिव राजेन्द्र श्रेष्ठको छ। सदरमुकाम चरिकोटबाट उत्तरतर्फ तीन हजार ८४२ मिटरको उचाईमा अवस्थित मन्दिरबाट जनैपूर्णिमाका दिन द्वाल्खा पुग्नुभएकी भगवती कायअष्टमीसम्म द्वाल्खामै रहने जनविश्वास रहेको छ । द्वाल्खामा वितण्डा मच्चाउने राक्षसहरुलाई जनैपुर्णिमाको दिन मारेर भगवती भीमेश्वर मन्दिरको उत्तरपट्टीको त्रिशुल भएको स्थानमा वा त्रिपुरासुन्दरी पछाडीको रानी बनमा बस्ने धार्मिक विश्वास रहेको भीमेश्वर गुठी तथा पुजा व्यवस्था समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिनुभयो । किम्बदन्ती अनुसार परापूर्व कालमा द्वाल्खा नगरका तान्त्रिक विद्या गर्ने दुई दाजुभाईले तामाकोसी नदी किनारमा डुलिहिड्ने तीन दिदीबहिनी भगवती भएको थाहा पाएपछि उनीहरुलाई द्वाल्खा बस्न आग्रह गरेका थिए । सुरुमा हालको त्रिपुरासुन्दरी डाँडामा आएर बसेका तीन दिदीबहिनी मध्ये माईलीले कालिञ्चोक डाँडा रोजेर बसेका थिए भने कान्छी र जेठीसँगै थिए ।त्रिपुरासुन्दरीसँगै बस्ने कान्छी बालकुमारीको अलि चञ्चल र उदण्ड स्वभाव रहेकोले उनले मानवीय क्षति समेत गर्न थालेपछि कालिञ्चोक भगवती र त्रिपुरासुन्दरीकै सल्लाह अनुसार तान्त्रिक विद्या भएका गुभाजुहरुले सिक्रीले बाधेर खाडलमा राख्ने योजना बनाउछन् ।दोलखाको कोविदेउमा एउटा खाडल खनेर बाचा बन्धन बाधेर बालकुमारीलाई उक्त खाडलबाट माथि आउन सके उन्मुक्त हुने नत्र खाडलमै बस्ने प्रतिबद्धताका साथ गुभाजुले तान्त्रिक बिधिबाट पिठोको सिक्री बनाएको र बालकुमारीलाई फलामको सिक्रीले बाँधेर खाडलमा हाम फाल्न लगाएका थिए । पिठोको सिक्री भएका कारण गुभाजु माथि आउन सफल भए तर बालकुमारी खाडलमै फसिन । त्यसपछि ढुङ्गाले छोपेर राखे । तर बालकुमारीले रोई, कराई गरेर त्यस्तो प्रकारको उदण्ड र मानवीय क्षती नगर्ने भन्न थालेपछि कालिञ्चोक र त्रिपुरासुन्दरीको अनुरोधमा पाँच दिन बाहिर निकालेर घुमाउने सहमति भयो । सोही अनुरुप कुमारीको जात्रा निकाल्ने परम्पराको थालनी भएको जनविश्वास छ । महादेवको अर्को रुप भैरवको निगरानीमा बालकुमारीलाई पाँच रात निकालेर द्वाल्खा घुमाउने चलन चलिआएको संस्कृतिकर्मी तीर्थनारायण जोशीले बताउनुभयो । जोशीका अनुसार कान्छी बहिनीलाई नगर परिक्रमा गराउने कुमारी जात्रा र त्रिपुरासुन्दरीसंँग भेटघाट र अन्य जात्रा पर्वका साथै द्वाल्खाको तल्लो भेगमा रहेको विशेष धार्मिक महत्वको नितपुल खेत हेर्नका लागि भगवती प्राचीन नगरी द्वाल्खा वस्ने गरेकी हुन् ।कालिञ्चोक मन्दिर वा बालकुमारीको मन्दिरबाट हेर्दा कालिञ्चोक, त्रिपुरासुन्दरी र बालकुमारी मन्दिर लहरै देखिने भएकोले पनि यसको धार्मिक महत्व रहेको अनुमान गर्न सकिन्छ । जनैपूणिर्माका दिन सुनपाती, भैरुङपाती, ध्वजा पतका र बाजागाजा सहित द्वाल्खा ल्याएकी कालिन्चोक भगवतीलाई काय अष्टमीको दिन त्यसैगरी कालिञ्चोक मन्दिरमा लगरे रुद्री पुजा, पाठ गरी राखिने चलन छ ।

 

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट