७ माघ २०८२, मङ्गलवार

भर्खरै

टोकियोमा तामाङ संस्कृतिको धमाकाः ल्होछारमा संगीत, नृत्य र आस्थाको महासंगम

राम्रो पोष्ट ७ माघ २०८२, मङ्गलवार
टोकियोमा तामाङ संस्कृतिको धमाकाः ल्होछारमा संगीत, नृत्य र आस्थाको महासंगम

टोकियो। जापानको राजधानी टोकियोस्थित सिन्जुकु आइतबार साँझ तामाङ संस्कृतिले पूर्ण रूपमा रंगिएको थियो। तामाङ समाज जापानको आयोजनामा मन्जुश्री सम्बत् २८६२ ता ल्हो सोनाम ल्होछार भव्य, ऐतिहासिक र उल्लासमय रूपमा सम्पन्न भएको छ। परदेशको भूमिमा आफ्नै मौलिक पहिचान, संस्कार र परम्परालाई जीवन्त बनाउँदै मनाइएको यो ल्होछारले जापानमा रहेका नेपालीहरूबीच सांस्कृतिक एकताको अनुपम दृश्य प्रस्तुत गर्‍यो।

कार्यक्रमको प्रमुख अतिथि एनआरएनए जापानका अध्यक्ष सुवास लामिछानेले दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो। उहाँले प्रवासमा रहेर पनि नेपाली समुदायले संस्कृति र पहिचान जोगाइराख्नु प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। कार्यक्रमका सभापति तामाङ समाज जापानका अध्यक्ष करसाङ तामाङले ल्होछार केवल पर्व मात्र नभई तामाङ समुदायको इतिहास, दर्शन र जीवनशैलीको प्रतिबिम्ब भएको बताउनुभयो।

कार्यक्रममा स्वागत मन्तव्य तामाङ समाज जापानका उपाध्यक्ष गिरबहादुर तामाङले दिनुभएको थियो। उहाँले जापानमा रहेका तामाङ समुदायको एकता, निरन्तरता र सक्रियतालाई ल्होछारले थप बल दिएको उल्लेख गर्नुभयो।

औपचारिक कार्यक्रममा NRNA ICC का उपाध्यक्ष रोविन शेरचन, NRNAका केन्द्रीय सदस्य शिवहरी पौड्याल, थकाली समाज, गुरुङ समाजलगायत जापानमा क्रियाशील थुप्रै नेपाली संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। औपचारिक कार्यक्रम तामाङ समाज जापानका महासचिव जनक थोकरले सुसंयोजित रूपमा सञ्चालन गर्नुभएको थियो।

सांस्कृतिक तथा सांगीतिक कार्यक्रमले ल्होछारको उत्सवलाई चरम उत्कर्षमा पुर्‍यायो। बलराम थिङको सञ्चालनमा सम्पन्न सांगीतिक कार्यक्रममा नेपालबाट विशेष रूपमा आमन्त्रित चर्चित गायक विश्व दोङ र लोकप्रिय गायिका जितु लोप्चन मुख्य आकर्षण बने। उनीहरूको दमदार प्रस्तुतीमा हलभरि दर्शक झुमे, तालीको गडगडाहट गुञ्जियो।

त्यसैगरी जापानमै रहेका चर्चित गायक अनिल लामा, कर्म दोङ, जनक थोकरलगायत कलाकारहरूले एकपछि अर्को उत्कृष्ट प्रस्तुति दिए। डान्सरहरू अमिर मोक्तान, लक्ष्मी वाइवा र सविन तामाङको सशक्त नृत्य प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनायो।

ल्होछारको विशेष अवसरमा लामा गुरुले विधिपूर्वक पूजापाठ गर्दै सर्प वर्षको विदाई र घोडा वर्षको स्वागत गर्नुभयो। आध्यात्मिक वातावरणले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो।

कार्यक्रममा एक हजारभन्दा बढी युवायुवतीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरू पूर्ण रूपमा तामाङ परम्परागत सांस्कृतिक पहिरनमा सजिएर कलाकारहरूसँगै झुमेका दृश्यले सिन्जुकुलाई नै तामाङ संस्कृतिको रंगमञ्चमा रूपान्तरण गरेको थियो।

दिउँसो २ बजेदेखि सुरु भएको कार्यक्रम राति ८ बजेसम्म निरन्तर चलेको थियो। संस्कृति, संगीत, नृत्य र एकताको संगम बनेको यो ल्होछार कार्यक्रमले जापानमा रहेका तामाङ समुदायको पहिचान मात्र होइन, सम्पूर्ण नेपाली समाजको सांस्कृतिक गौरवलाई समेत उचाइमा पुर्‍याएको सहभागीहरूको भनाइ थियो।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट